नेपाली नयाँबर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना!!

सम्पूर्ण न्यूह्यामसरबासी नेपालीभाषी दाजूभाइ तथा दिदी बहिनीहरुमा नमस्कार ।
सर्बप्रथम नेपाली नयाँबर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँबर्ष २०७७ ले तपाई हाम्रो जीवनमा शान्ति, सम्बृद्धि, दीर्घायू र उत्तरोत्तर प्रगति पक्कै ल्याउनेछ भन्नेमा पूर्ण विस्वास गर्दछु ।
साथै, हाल विश्वनै कोरोना भाईरसका कारण आक्रान्त भईरहेको यहाँहरुलाई अवगत नै छ । हाम्रो न्यूह्यामसर राज्यमा पनि प्रभावितहरुको संख्या बढ्दो छ । र, भाग्यबस हाम्रो समाजमा कसैलाई पनि यसको संक्रमण भएको तथ्याङ्क छैन र प्रार्थना गरौं हामी कसैलाई पनि यो महामारीले अवश्य छुने छैन । तर, हाम्रो प्रार्थनाले मात्रै पनि पुग्दैन, हामीले सरकार र हाम्रो स्वास्थ्यकर्मीहरुले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गर्नुपर्दछ । यहाँहरु कसैलाई पनि कोभिड–१९ (Covid-19) सँग मिल्दोजुल्दो लक्षणहरु देखा परेमा तुरुन्तै आफ्नै स्वास्थ्यकर्मी (Primary Physician) लाई सम्पर्क राख्नुहोला र उहाँहरुको निर्देशन, सल्लाह र सुझावको पूर्णरुपमा पालना गर्नुहोला । साथै, महामारी पूर्णरुपमा अन्त्य नभएसम्म भेटघाट, भोजभतेर, वा अन्य सामाजिक गतिविधिलाई पूर्णरुपमा बन्द गर्नुहोला ।
न्यूह्यामसर नेपाली समाजलगायत राज्यमा स्थापित विभिन्न संघसंस्थाहरुको संयुक्त पहलमा न्यूह्यामसर नेपाली कोभिड–१९ टास्कफोर्स (NH Nepali Covid-19 Task Force) गठन भई यहाँहरुलाई परिआएको खण्डमा आवश्यक सहयोग पु्र्याउन विभिन्न तयारीहरु गरिरहेको बारे यहाँहरु अवगतै हुनुहुन्छ । उक्त टास्कफोर्सले साना व्यावसाय (Small Business), बेरोजगारी सुविधा (Unemployment Benefit), अध्यागमन (Immigration) वा अन्य सरकारी सेवासेविधा लिनका लागि आवश्यक सरसहयोग प्रदान गरिरहेको छ । यहाँहरु कसैलाई सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला । हामीले सकेको सहयोग गर्नेछौं । साथै, हामीले न्यूह्यामसर राज्य र छिमेकी राज्यहरुमा कार्यरत नेपालीभाषी डाक्टर, नर्स एवं मानसिक सेवा परामर्शदाता (Doctors, Nurses, Mental Health Counselors) हरुसँग आवश्यक सहकार्य गरिरहेका छौं र चाँडै उहाँहरुसँग प्रश्नोत्तर (Town Hall) को कार्यक्रम लिएर आउनेछौं, कृपया यहाँहरुसँग कुनै प्रश्न भए support@nhnepali.org मा पठाउनुहोला । हामी उहाँहरुबाट यहाँहरुको प्रश्नको उत्तर लिनेछौं ।
अन्तमा पुनः यहाँहरुलाई नयाँबर्ष २०७७ को शुभकामना व्यक्त गर्दै कोभिड-१९ सँग जुध्न पालना गर्नुपर्ने सबै निर्देशन आत्मासाथ गरीदिन हुन हार्दिक अपिल गर्दछु ।

धन्यबाद,
सोम गुरुङ
अध्यक्ष
न्यूह्यामसर नेपाली समाज, न्यूह्यामसर

Comment Us