एनएचएनसी फुटबलमा एनवाईएन एफसी विजयी

एनएचएनसी फुटबलमा एनवाईएन एफसी विजयी

माधव गुरुङ२०७६ असार २ गते १३:५५ मा प्रकाशित
न्यूह्यामसर, न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको एकदिवशीय (सेभेनसाईड) फुटबल प्रतियोगिताको उपाधि एनवाईएन फुटबल क्लब न्यूयोर्कले जितेको छ ।

न्यूह्यामसरको म्यान्चेष्टरस्थित रकरिमन फुटबल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा न्यह्यामसरको ड्रयागन सेभेन टिमलाई १ का विरुद्ध ६ गोल गर्दै एनवाईएन फुटबल क्लबले उपाधि हासिल गरेको हो । प्रतियोजितामा उत्तर पूर्वी अमेरिकाका न्यूह्यामसर, मासाचुसेट्स, पेन्सलभेनिया, न्यूयोर्कलगायत विभिन्न राज्यमा बसोबास गर्ने ११ नेपाली भाषी टोलीले भाग लिएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजित गरी लिग चरणको खेल खेलाइएको थियो । प्रत्येक समूहका विजेता र उपविजेता टोली नक आउट चरण (क्वार्टर फाइनल) मा प्रवेश गरेका थिए ।

विजेता टिमलाई नगद १००० डलर, ट्रफी, मेडल र प्रमाणपत्र एवं उपविजेता टिमलाई नगद ३०० डलर, ट्रफी, मेडल र प्रमाणपत्र आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले एक समाहरोहबीच हस्तान्तरण गर्नुभयो ।

‘हामीले प्रतियोगिताको आयोजना गरेर सम्मान, अनुशासन र भाइचाराको प्रवर्द्धन गर्ने कोसिस गरेका हौँ’ विजेता, उपविजेता एवं सहभागी टिमहरूलाई बधाई ज्ञापन गर्दै समाजका अध्यक्ष सोम गुरुङले भने ‘प्रतियोगिताबाट सहभागी टिमहरूले सम्मान, अनुशासन र भाइचारालाई स्थापित गर्ने काम हौसलाप्रद रह्यो ।’

प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान दीपक अमात्य, त्रिभुवन आर्मीका पूर्व प्रशिक्षक सुजन केसीलगायत शुभम् थापा र आशिष् भट्टराईले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

 

Comment Us